अध्यक्षको भनाई

नमस्कार !

हाम्रो संस्था संचालन अवधिको ९औं वर्ष पूरा गरी  १०औं वर्षमा प्रवेश गरेको सुखद खबर आदरणीय शेयरसदस्य महानुभावहरु समक्ष जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुसि लागेको छ । हामीले संस्थाको वर्तमान अवस्था, भविष्यका सम्भावना र चुनौतीहरुलाई समेत दृष्टिगत गरी दैनिक कार्य संचालनलाई प्रभावकारी रूपमा अगाडी बढाउनको निमित्त बनेका विभिन्न किसिमका विनियमावलीहरु र कार्यविधिहरु यथासक्य लागु गरी संस्थागत सुशासनलाई उच्च प्राथमिकता दिएका छौं । तत्कालिन, अल्पकालीन र दिर्घकालीन कार्य योजना अनुसार वार्षिक कार्यक्रम तथा बजेट बनाई सोही बमोजिम अगाडी बढ्नु हाम्रो प्रमुख विशेषता हो । देशको प्रतिकुल अर्थतन्त्र र सहकारी संस्थामा आएको अस्थीरताको बाबजुद पनि हामीले आफ्नो दक्षता र क्षमताको अधिकतम प्रयोग गरी संस्थाको व्यवसायिक क्षमतालाई थप प्रबद्र्धन गरेका छौं ।

संस्थामा कार्यरत कर्मचारी व्यवस्थापनलाई सबल बनाउनको निमित्त हामीले विभिन्न प्रकृयाहरू अबलम्बन गरेका छौं । संस्थाको कारोबार गर्न कर्मचारीको योग्यता र क्षमताको कदर गरी जिम्मेवारी समेत हेरफेर गर्ने, बढुवा गर्ने, विभिन्न किसिमको आन्तरिक तथा बाह्य तालिमको व्यवस्था गरी कार्य कुशलातामा बृद्धि गर्ने छौँ । संस्थाको अल्पकालिन र दीर्घकालीन लक्ष्य पुरा गर्नको निमित्त बनेका विभिन्न विनियमावलीहरु र वार्षिक कार्यक्रम तथा बजेट पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि नियमित रुपमा संचालक समिति, लेखा समिति लगायत अन्य उप–समितिहरु र कर्मचारी व्यवस्थापनको बैठक बसी समिक्षा गर्ने व्यवस्था गरिएको छ भने, समय सापेक्ष रूपमा कर्मचारीहरूले पाउने अल्पकालीन र दिर्घकालीन सेवा तथा सुविधाहरू समेत बृद्धि गर्दै लगिने व्यहोरा अवगत गराउन चाहन्छु ।

संस्थाको कारोबारमा भएको बृद्धि सँगै हामीले सदस्यहरूलाई उपलब्ध गराउने सेवा तथा सुविधाहरूलाई समेत बृद्धि गर्दै लैजाने छौं । बजारको प्रतिस्पर्धा र सदस्यहरूको माग बमोजिम संस्थाको क्षमता अनुसार आन्तरिक सुचना प्रणालीलाई थप सुदृढ गर्दै लगेका छौं । साना तथा माझौला उद्दोग धन्दामा लाग्न प्रोत्साहन दिएर आत्मनिर्भर बनाउने लक्ष्य रखेका छौँ त्यसैले सदस्यहरुलाई सर्ब सुलभ तरिकाबाट कर्जा लगानी गरिनुका साथै SMS बैंकिङ्ग सुविधा र वेवसाईट सुविधा समेत उपलब्ध गराईएको छ । साथै निकट भविष्यमा मोबाईल बैंकिङ्ग र ए.टि.एम. सुविधा समेत उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सहकारीको सिद्धान्त अनुसार हामीले संस्थागत सामाजिक उतरदायित्वका विभिन्न कार्यहरू गर्दै आएका छौं । गत आ.व. मा जस्तै चालु आ.व. ०७६/०७७ मा पनि विभिन्न संघ, संस्था, स्कूल, अनाथालय, खेलकुद, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा संस्थाको नियम अनुसार आर्थिक सहयोग गरी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप सुदृढ गर्दै लगिने व्यहोरा सम्पूर्ण महानुभावहरूलाई अवगत गराउँदछु ।

अन्तमा, हाम्रो संस्थालाई आगामी दिनमा नेतृत्वदायी संस्थाको रुपमा स्थापित गराई समग्र सहकारी क्षेत्रलाई विकास तथा प्रर्वद्धनमा निर्णायक भूमिका गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । धन्यवाद ।

 

राम बहादुर जुग्जाली
अध्यक्ष – संचालक समिती